राप्रपाले महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० गते गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा केन्द्रित भएको छ । २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीमा जुटेको राप्रपाले जनाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनको मितिसमेत तोकेको छ ।

प्रतिनिधिको निर्वाचन २०७८ वैशाख १० गते गर्ने निर्णय बैठकले गरेको हो । यस्तै, बैठकले यही फागुन २५ गतेभित्र जिल्ला निर्वाचन समिति चयन गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ गतेसम्म म्याद थप्ने, वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्तसम्ममा गरिसक्ने निर्णय बैठकले गरेको छ ।



अघिल्लो वर्ष फागुनको अन्तिम साता पार्टी एकताको घोषणा गरेको राप्रपाले अब केही जिल्लामा मात्रै बाँकी रहेको समायोजनलाई एक साताभित्र टुंगो लगाउने निर्णय गरेको छ । यसका साथै केही दिनभित्रै प्रदेश प्रमुखहरु तोक्ने तयारी गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार