गोंगबु हत्याकाण्ड : कल्पनालाई बाँचुन्जेल जेल, छोरीलाई सफाइ

दाङका कृष्णबहादुर बोहराको हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी कल्पना मुडवरीलाई बाँचुन्जेल जेल राख्ने फैसला भएको छ। काठमाडौंको गोंगबुमा गत साउन २४ गते राति भएको घटनामा जिल्ला अदालत काठमाडौंले ३७ वर्षीया कल्पनालाई आजीवन जेल सजाय सुनाएको हो।

कल्पनाले हत्या गरिसकेपछि शव व्यवस्थापनमा सहयोग गरेकी १५ वर्षीया छोरीलाई भने अदालतले सफाइ दिएको छ। उनलाई पनि उमेर कम भएका कारण पुर्पक्षका लागि बालसुधार गृहमा राखिएको थियो। बयानका क्रममा कल्पनाले हत्यामा आफ्नो मात्रै संलग्नता रहेको बताएकी थिइन्।



जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले मुडवरीमाथि मागबमोजिम नै फैसला गरेको हो। उनीविरुद्ध जन्म कैदको सजाय मागदाबी गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो।

बोहोरालाई दहीमा औषधि मिसाएर खुवाएर ह्यामरले अण्डकोषमा प्रहार गरेर कल्पनाले हत्या गरेको अनुसन्धानको निष्कर्ष छ। हत्याको भोलिपल्ट सुटकेशमा टाउको र खुट्टा भेटिएको थियो भने त्यसको केही पर जेब्रा झोलामा टाउको र खुट्टा फेला परेको थियो।

हत्या गरेर चीतवन पुगेकी कल्पनालाई प्रहरीले पक्राउ गरेको थियो। आफू र छोरीमाथि यौन दुव्र्यवहार गरेपछि हत्या गरेको कल्पानाको बयान थियो।

सम्बन्धित समाचार