नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु गरेको छ। यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड-नेपाल पक्षसँग सहमति गरिसकेको र आज बस्ने कांग्रेस पदाधिकारी बैठकमा यसबारे छलफल गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।
आगामी फागुन २३ गते बस्ने संसदको बैठकबाट अविश्वास प्रस्तावको तयारी सुरु गरिने कांग्रेसको योजना छ। यसका लागि कांग्रेस पदाधिकारी बैठकले अन्तिम निर्णय गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ। सर्वोच्च अदालतबाट संसद पुनर्स्थापनाको फैसला भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध यसअघि पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने र नयाँ अविश्वास प्रस्ताव दर्ता गरिने नेकपा प्रचण्ड-नेपाल स्रोतले जानकारी दिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेसले नेकपाको प्रचण्ड-नेपाल पक्षसँग मिलेर प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने गरी तयारी अगाडि बढाइएको छ।

