नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।

रुपन्देही मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि बनाइएको स्टेज (मञ्च) स्थानीयले भत्काइदिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आज औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि उनी बिहीबार नै रुपन्देही आइसकेका छन् ।
औद्योगिक क्षेत्र प्रभावित स्थानीयले शिलान्यास कार्यक्रम बिथोल्ने चेतावनी दिएका छन् । स्थानीयको ठूलो समूहले शिलान्यास कार्यक्रमका लागि मगरघाट पुल नजिकै बनाइएको स्टेज भत्काइदिएका छन् । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले स्थानीयले स्टेज भत्काइदिएको पुष्टि गर्दै घटनास्थलमा प्रहरी पठाइएको बताए ।
स्थानीय ग्यामलाल भुसालले सरकारले औद्योगिक क्षेत्र प्रभावित बासिन्दाको माग सम्बोधन नगरी सहमति विपरीत औद्योगिक क्षेत्र बनाउन लागेपछि शिलान्यास हुन नदिने उद्देश्यले स्टेज भत्काइदिएको बताए । उनका अनुसार ठूलो संख्यामा स्थानीय गएर स्टेज भत्काइदिँदा प्रहरीले रोक्न सकेको थिएन ।

