नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन दिएको परमादेशअनुसार आजदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु हुँदै छ । संसद् सचिवालयले आज बस्ने संसद् बैठकको कार्यसूची सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक कार्यसूचीअनुसार राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।
त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्। लगत्तै सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने छन्।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, कानून मन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेपछि पहिलो पटक आज बैठक बस्न लागेको हो।


