प्रचण्ड-नेपालले सभामुखलाई भेटे, पुरानै अविश्वासको प्रस्तावलाई अघि बढाइने

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका संसद् सचिवालय स्रोतले जानकारी दियो ।

सभामुखसँग आज बस्ने संसद बैंठकका विषयमा छलफल भएको थियो। प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज ४ बजे बस्दैछ।



प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसद् बैठक बस्न लागेको हो।

सभामुख सापकोटाले पुरानो दर्ता कायम भएकाले आजै अविश्वासको प्रस्ताव दर्ता नगर्न सुझाव दिएका छन् । सभामुख सापकोटाले पुरानो दर्ता खारेज नगरेकाले त्यसैलाई सदर गरेर अघि बढ्ने नेता देव गुरुङले जानकारी दिए । ‘नयाँ दर्ताबारे थाहा भएन । पुरानो दर्ता त छँदैछ । सभामुखज्यूले त्यसलाई खारेज गर्नुभएको छैन’, उनले भने ।

नेपालको संविधानको धारा १०० मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ । आफूमाथि दर्ता भएको अविश्वासको प्रस्तावमाथि संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । दुईतिहाई सदस्यबाट विश्वासको मत नलिए प्रधानमन्त्री स्वतः पदबाट हट्ने व्यवस्था छ ।

सम्बन्धित समाचार