यस्तो हुन सक्छ अबको सत्ता समीकरण, नयाँ प्रधानमन्त्रीमा कसको सम्भावना ?

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता नै बदर गरिदिएपछि नेपालमा राजनीतिक संकट देखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुपर्ने भएको छ । यसअघि प्रधानमन्त्री बन्न सघाएको माओवादी केन्द्रले उनलाई दिएको समर्थन फिर्ता गरेको खण्डमा स्वाभाविक रूपमा उनले नेपाली कांग्रेस या जसपाको साथ खोज्नेछन् ।

अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका लागि संवादको बाटो खुला भएको छ । उता पछिल्लो राजनीतिक घटनाक्रम र भावी सरकारलाई लिएर छलफल गर्न जसपाले पनि आजै संसदीय दलको बैठक आव्हान गरेको छ । कांग्रेस र जसपा दुवैले नयाँ सत्ता समीकरणबारे आज भोलि नै निर्णय लिने देखिएको छ ।



यस्तो छ संसद्मा दलहरुको अवस्था
नेकपाको एकताले मान्यता नपाएपछि संसद्मा ४ दल अस्तित्वमा छन् । नेकपा एमाले संसद्को सवैभन्दा ठूलो दल भएको छ । उसँग १२१ जना सांसद् रहेका छन् । त्यसैगरी दोस्रो ठूलो दल कांग्रेससँग ६३ जना सांसद् रहेका छन् भने तेस्रो दल बन्न पुगेको माओवादी केन्द्रसँग ५३ सांसद् रहेका छन् । जसपासँग भने ३४ सांसद् रहेका छन् । अहिले कायम रहेका सांसद संख्या २७० मध्ये बहुमत जुटाउन कम्तीमा १३५ सांसद आवश्यक पर्छ । चारै दलसँग बहुमत नरहेकोले प्रधानमन्त्री बन्न कुनै न कुनै सदसँग सत्ता साझेदारी गर्नुपर्ने हुन्छ ।

एमालेले कुनै एक दलसँग सत्ता साझेदारी गर्दा पनि बहुमत जुटाउने अवस्था छ भने कांग्रेस, नेकपा र समाजवादीलाई भने एमाले बाहेको सरकार बनाउनुपर्ने अवस्थामा सबैसँग मिल्नुको विकल्प रहँदैन । त्यसकारण संसद्मा अबको सत्ता समीकरणमा सवैको चासो देखिन्छ ।

यस्तो बन्न सक्छ अबको सत्ता समीकरण

१ः एमाले र माओवादीबीच समीकरण
नेकपामा रहँदा जतिसुकै एकले अर्कोलाई हिलो छ्याप्ने काम गरे पनि सर्वोच्चको निर्णयले एमाले र माओवादी दुबैलाई धक्का दिएको छ । एमाले र माओवादी दुबै दलका दोस्रो तहका नेताहरू पार्टी एक नभए पनि कार्यगत एकता गरेरै अगाडि बढ्नुपर्ने र विस्तारै एकताको सूत्र खोज्नुपर्ने भन्दै छलफललाई जारी राखेका छन् । माओवादीले पनि ओलीबाहेकका नेता भएमा एमालेलाई नै प्रधानमन्त्री बनाएर आफू पनि सत्तामा जाने सम्भावना बलियो देखिन्छ । यदि माधव नेपाल या आफ्नो दलको अन्य कुनै नेतालाई प्रधानमन्त्री बनाउन ओली तयार रहने हो भने माओवादीसँग एमालेको कार्यगत एकता कायमै रहन सक्ने देखिन्छ ।

२ः एमाले कांग्रेसबीच समीकरण
संसद्को हिलो दल एमाले र दोस्रो दल नेपाली कांग्रेसबीच सत्ता समीकरणको सम्भावना पनि उत्तिकै देखिन्छ । पछिल्लो समय प्रधानमन्त्री ओली प्रचण्डसँग निकै रुष्ट बनेकोले माओवादीलाई प्रतिपक्षमा राख्नको लागि ओलीले कांग्रेससँग सहकार्यको हात बढाउन सक्ने सम्भावना पनि बलियो छ । सकेसम्म आफैलाई प्रधानमन्त्री स्वीकार्न या त्यो सम्भव नभएमा कांग्रेसलाई प्रधानमन्त्री दिएर भए पनि एमालेलाई सरकारमा सहभागि गराउने प्रयास ओलीले स्वाभाविक रूपले गर्नेछन् । त्यस्तो अवस्थामा एमाले र कांग्रेसबीच प्रदेश सरकारमा पनि सहकार्य हुने सम्भावना छ ।

३ः एमाले र जसपाबीच सत्ता समीकरण
प्रधानमन्त्री केपी ओलीसँग नेपाली कांग्रेसका देउवाइतरका शक्तिहरू सन्तुष्ट छैनन् । यस्तो अवस्थामा एमालेसँग सत्ता समझेदारीको लागि कांग्रेस तयार नभएमा ओलीले जसपाको समर्थनमा सरकार गठनको पहल गर्ने सम्भावना छ । ओलीलाई नै प्रधानमन्त्री मान्न जसपा तयार भएमा उसलाई सभामुखदेखि उपराष्ट्रपतिसम्म दिन ओली तयार हुने देखिन्छ ।

४ः एमालेबाहेक सबै दलबीच गठबन्धन
प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रचण्डलाई कांग्रेस र जसपाले अप्रत्यक्ष रूपमा साथ दिएका थिए । साे कदमपछि कांग्रेस र जसपा ओलीसँग रुष्ट रहेकोले एमालेविरुद्ध उनीहरूबीच गठबन्धन हुने सम्भावना बलियो छ । यो अवस्थामा प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टराईसम्मको सम्भावनालाई नकार्न सकिँदैन ।

सम्बन्धित समाचार