नेकपा एमालेको सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दै

सर्वोच्च अदालतको फैसलापछि साविककै अवस्थामा फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी संरचना र संगठन कमिटीलाई सकृय पार्ने काम थालेका छन् । यसैक्रममा पार्टीको आन्तरिक व्यवस्थापनबारे छलफल गर्न नेकपा एमाले सचिवालयको अनौपचारिक बैठक बोलाइएको छ ।

एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार पार्टी कमिटीहरुलाई सकृय बनाउँदै कार्यालय व्यवस्थापन तथा संगठनलाई नयाँ परिस्थिति अनुरुप व्यवस्थित पार्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।



एमाले सचिवालयको पहिलो अनौपचारिक बैठक आज अपरान्ह ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जानकारी पनि मन्त्री ज्ञवालीले दिए । पार्टी कार्यालय सचिव इश्वरी रिजालका अनुसार काठमाडौंको धुम्बाराहीस्थित नेकपा एमाले केन्द्रीय पार्टी कार्यालय लगायत विभिन्न तहको कार्यालयमा नेकपा एमाले पार्टी कार्यालयको नाम सहित बोर्ड राख्ने कार्य गरिंदै छ ।

सर्बोच्चले पार्टीको नाम सम्बन्धी विवादमा नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किने फैसला गरेसँगै दुवै पार्टीले आ-आफ्ना कार्यालयको व्यवस्थापन गर्दै छन् ।

सम्बन्धित समाचार