नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो।
घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन्। दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए।
लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो। उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ। मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए।
