सुवास नेम्वाङ या विष्णु पौडेललाई प्रधानमन्त्री बनाउन एमाले तयार !

नेकपा एमालेले प्रधानमन्त्रीमा केपी ओलीको विकल्प दिन तयार रहेको संकेत गरेको छ । सर्वोच्चले नेकपा विघटन गरेपछि एमाले र माओवादी केन्द्र अस्थित्वमा आएपछि प्रधानमन्त्री ओली अल्पमतमा छन् । माओवादीले ओलीलाई प्रधानमन्त्री स्वीकार्न नसक्ने बताएपछि एमालेले ओलीको विकल्प दिन तयार रहेको भन्दै माओवादी केन्द्रलाई सत्ता साझेदारी कायमै राख्न प्रस्ताव गरेको बताइन्छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले एमालेबाट सुवास नेम्वाङ र विष्णु पौडेलमध्ये एकमा सहमति जुटेमा सत्ता साझेदारी गर्न एमाले तयार रहेको सन्देश आएको बताए । तर माओवादी भने पहिले प्रधानमन्त्रीको राजीनामा दिएपछि विकल्पका बारेमा सोच्च सकिने बताउँदै आएको छ ।



माओवादी केन्द्रले सकेसम्म एमालेबाहेकका शक्तिसँग सहकार्य गरेर सरकार बनाउने प्रयासमा छन् । त्यसको लागि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर छलफल गरिरहेको छ । जसपामा यही सरकारमा जाने या नयाँ सरकार गठनमा लाग्ने भन्नेमा दुई धार देखिएकोले माओवादी केन्द्र र कांग्रेसले कुनै निर्णय लिन सकेका छैनन् ।

जसपालाई फुटाएर भएपनि आफ्नै सरकारमा सहभागी गराएर यहि सरकारलाई निरन्तरता दिन ओलीले पहल गरिरहेका छन् । राजपालाई तान्ने प्रयास सफल नभए दोस्रो तहका नेतालाई अगाडि सारेर नेकपाकै नेतृत्वमा सरकार गठन गर्ने योजनामा ओली रहेका छन् ।

सम्बन्धित समाचार