नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।

जनता समाजवादी पार्टी (जसपा)का नेताहरू नयाँ सरकार बनाउन छलफल गर्ने भन्दै नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडा पुगेका छन्। सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरू महन्थ ठाकुर, अशोक राई, उपेन्द्र यादव, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन्।
उनीहरूले माओवादी अध्यक्ष प्रचण्डलगायत नेताहरूसँग सम्भावित सत्ता समीकरणबारे छलफल गर्न लागेको थाहा भएको छ। वाम गठबन्धन हुँदै एकीकृत भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत हैसियतमै फर्किएपछि जसपा सत्तासीन एमाले र माओवादी केन्द्रको तानातानमा परिरहेको छ।
यसबीच जसपाका नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र सो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली तथा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग सत्ता समीकरणका लागि प्रयास गरिरहेका छन् ।

