
लेखक खगेन्द्र संग्रौलाले संविधान, संसद्, नेकपापछि प्रधानमन्त्री ओली अब एमाले भत्काउन लागिपरेको आरोप लगाएका छन्। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्दै पहिलेकै दुई दल ब्युँताइदिएपछि यसका नेताहरू अहिले आआफ्नै पुराना पार्टीमा फर्केका छन्।
यसै क्रममा एमाले अध्यक्ष ओलीले नेकपा हुँदा प्रचण्डसँग मिलेका झलनाथ खनाल र माधव नेपाल पक्षका सबैका पद र जिम्मेवारी खोसेपछि यो पार्टीभित्र ठूलो विभाजन देखापरेको छ। ओलीले गरेको निर्णय अवैधानिक भन्दै खनाल–नेपाल पक्षले एमालेभित्र समानान्तर कमिटी नै बनाएको छ। जसले गर्दा एमाले लगभग फुटको अवस्थामा पुगेको आकलन गर्न थालिएको छ।
यसै सन्दर्भमा साहित्यकार संग्रौलाले यसअघि धेरै कुरा भत्काएका ओलीले अब एमाले भत्काउने थालेको टिप्पणी गरेका हुन्। ‘प्रधानमन्त्री ओली सरले संविधान भत्काए, संसद भत्काए, शक्ति पृथकीकरणको सन्तुलन भत्काए, राजनीतिक अभिव्यक्तिको मर्यादा भत्काए, सदाचार र पारदर्शिता भत्काए, नेकपा (नेकपा) भत्काए र अब नेकपा (एमाले) भत्काउँदैछन्,’ संग्रौलाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्,।‘ओली सरको ट्रिपल डाक्टरीको पदवीमा अब अर्को डाक्टरी थपिने भो– भत्काउ डाक्टरी !’


