
प्रधानमन्त्री केपी ओलीले यथास्थितिमा नयाँ सरकार बन्न नसक्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले एमालेबाहेक अरु कसैको नेतृत्वमा सरकार नबन्ने भन्दै मुलुक चुनावमा जाने बताएका हुन् ।
‘आजका मितिसम्म एमाले ठूलो पार्टी हो’, उनले भने, ‘एमालेबाहेक अरुले सरकार चलाउने हो भने संसदमा मत पुर्याउनुपर्यो, त्यो त अरु कसैले पुर्याउँदैन ।’
कसैले सरकार बनाउन नसकेपछि संविधानअनुसार संसद् विघटन हुने उनको भनाइ छ । उनले यसअघि आफूले संसद् विघटन गरेर गल्ती गरेको स्वीकारे । ‘तपाईं फेरि संसद् विघटन गर्न चाहनुहुन्छ रे त !’ कार्यक्रम प्रस्तोताको जिज्ञासामा ओली भने, ‘म फेरि त्यस्तो गल्ती दोहोर्याउँदिनँ, एमालेबाहेकको सरकार बन्न सकेन भने, कसैले मत पुर्याउन सकेन भने त संविधानअनुसार नै संसद् विघटन हुन्छ ।’
उनले जनता समाजवादी पार्टी र कांग्रेसलाई आफूले प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताए । आफू अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको उनको भनाइ छ । आफूसँग बहुमत रहेकाले पदबाट राजीनामा नदिने उनले बताए । ‘मलाई सबैभन्दा बढी मन नपराउनेहरूले पनि अहिले मलाई समर्थन दिइरहेका छन्’, उनले भने ।

