
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए ।
उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ । तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ ।
प्रचण्डको भनाई उध्रित गर्दै माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भनेर प्रचण्डले फोन गरौंला भन्नुभयो ।’
प्रचण्डले उक्त बैठकमा ओलीले भेट्न चाहनुमा आफ्नो पक्षमा माहौल बनाउन चाहेको बताएका थिए । साथै जसपालाई फुटाउने ओलीको चाहना पुरा नभएपछि ओली अर्को रणनीतिमा लागेको भन्दै प्रचण्डले सरकार नढलेसम्म ओलीलाई नभेट्ने बताएको स्रोतको दाबी छ ।

