
सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन । जसपामा प्रधानमन्त्री केपी ओलीलाई सघाउने या नयाँ सरकाराई भन्नेमा मतभेद कायमै छ ।
वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा सोमबार भएको जसपाका शीर्ष नेताहरुको बैठकले कुनै निष्कर्ष निकाल्न सकेको थिएन । बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भएपनि निष्कर्षमा पुगिनसकेको जसपाका वरिष्ठ नेता अशोक राईले बताए ।
बैठकमा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुले दिएको समर्थनबारे पनि छलफल भएको थियो । जसपाले संविधान संशोधन र वन्दी जीवन विताइरहेका रेशम चौधरी लगायतको रिहाइसहित माग राखेर सत्तामा जाने कसरत गरिरहेको छ ।
सत्ता समीकरण र पार्टी समायोजनको बाँकी काम टुङ्गो लगाउन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी चैत ५ गते शुरु हुँदैछ । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी फुटाउन जोड दिएकोले सतर्क रहन सांसद्हरुलाई भनिएको थियो । तरपनि जसपाका केही सांसद् ओलीको समर्थनमा खरो रुपमा उत्रिएकोले ओलीले चाहेका तत्काल जसपा फुटाउन सक्ने अवस्था रहेको स्रोतले बतायो ।
