
नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले भने, ‘सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्छ।’
‘यही ५ गते जसपाको बैठकपछि कांग्रेस, माओवादी र जसपा गठबन्धनको सरकार बन्छ’ उनले थपे, ‘प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको उहाँहरु सबैले विरोध गर्नुभएको थियो। त्यसैले यो प्राकृतिक गठबन्धन हो।’
उनले प्रधानमन्त्री ओलीको लागि प्रतिनिधिसभा नभएको तर्क गरे। ‘प्रधानमन्त्रीको लागि प्रतिनिधिसभा छैन। उहाँले मारिसक्नुभयो’ उनले भने, ‘उहाँले विश्वासको मत लिन्छु भन्ने कुरा गर्नुले उहाँको नैतिकताको कुरा पनि हुन्छ।’ उनले बैठकमा सरकारलाई दिएको समर्थनबारे भने ठोस छलफल नभएको बताए।

