ओलीले बोलाएको संसदीय दलको बैठक माधव समूहले बहिस्कार गर्ने, कारवाही गर्लान त ओलीले ?

प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी ओलीले भोलि संसदीय दलको बैठक बोलाएका छन्। बालुवाटारमा विहीवार बिहान ११ बजेका लागि बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए।

दलको बैठकमा नेकपा एमालेको असन्तुष्ट समूह वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहलाई पनि बोलाइएको भट्टराईले बताए। ‘सूर्य चिन्ह लिएर चुनाव लडे जतिलाई हामीले बोलाएका छौ। आउने नआउने उहाँहरुको कुरा हो,’ उनले भने।



ओलीले बोलाएको संसदीय दलको बैठक भने नेपाल-खनाल समूहले बहिस्कार गर्ने भएको छ। आफूहरु आजैदेखि राष्ट्रिय भेलामा जुटेकाले ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने नेपाल समूहका नेता तथा स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए। ओलीले बोलाएको संसदीय दलको बैठकको कुनै औचित्य नभएको उनको भनाई छ।

आफूहरुलाई धम्की दिन भेला बोलाएको नेपाल समूहको बुझाइ छ। ‘हाम्रो भेलालाई असफल पार्न बैठक बोलाउनु भएको होला। त्यसको कुनै औचित्य छैन्। धम्की दिइरहनुभएको छ। त्यसैको निरन्तरता हो,’ भुसालले भने।

ओलीले बालुवाटारमा मंगलवार आयोजना गरेको चियापनामा नेपाल-खनालले भेला नरोके कारवाही गर्ने चेतानी दिएका थिए। उनले पार्टीको विधानअनुसार कारवाही हुने धम्की दिए पनि नेपाल-खनाल समूहले भने ओलीको चेतावनीलाई लत्याएर ललितपुरको हेरिटेज गार्डेनमा दुई दिने कार्यकर्ता भेला गरिरहेको छ।

ओली समूहका नेताहरुले भने नेपाल-नेपाल खनालले पार्टीको विधान विपरित गतिविधि गरेकाले अब कारवाहीको प्रक्रिया अघि बढने बताएका छन्। संसदीय दलका प्रमुख सचेतक विशाल भट्टरलाईले पार्टीले नेपाल-खनाल समूहका बारेमा विचार गर्ने बताए।

सम्बन्धित समाचार