
प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले सदनबाटै विश्वासको मत लिएर देखाउने चुनौती दिएका हुन् । मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।
मुख्यमन्त्री शाहीले भने,‘लोकतन्त्रमा समर्थन दिने, लिने कुरा सामान्य हुन् । उहाँहरूले समर्थन फिर्ता लिएको खण्डमा म सदनबाट विश्वासको मत लिन्छु, त्यसका लागि हामी मानसिकरुपमा तयार छौं ।’
एमालेले चैत ५ गतेबाट लागू हुने गरी सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेको संसदीय दलका नेता यामलाल कँडेलले आफ्नो पार्टीले समर्थन झिकेसँगै सरकार कामचलाउमा परिणत भएको छ । यता कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका नेपाल समूहका नेता प्रकाश ज्वालाले ओली समूहको निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुटगत निर्णय आधिकारिक नभएको स्पष्ट पारेका छन्।
