
संसद् सचिवालयले शुक्रबारको संसद् बैठकमा लागि सम्भावित कार्यसूची तय गरेको छ । सचिवालयका अनुसार शुक्रबार १ बजे बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरेको छ । सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री केपी ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
त्यसैगरी, राष्ट्रियसभाका पूर्वसदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि संसद् सचिवालय तय गरेको छ । शुक्रबार बस्ने संसदको बैठक सातौँ अधिवेशनका चौथो बैठक हो ।
११ फागुनमा संसद् पुनर्स्थापनापछि बसेको चौथो बैठक हो । तर, सरकारले संसद्लाई विजनेश नदिँदा अहिले संसद् केही मिनेट बैठक बसेर स्थगित हुने स्थिति सिर्जना भएको छ । सरकारले पहिलो बैठकका लागि केही अध्यादेश ल्याउने प्रयास गरेको भए पनि संसदमा विरोध भएपछि ती अध्यादेश कार्यसूचीमा राख्न सरकार तयार देखिएको छैन ।

