
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली २०६२–०६३ देखि अहिलेसम्मका परिवर्तन जुवाको खालबाट आएको जस्तो संझिएको बताएका छन् । एमाले खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा उनले ओली एमाले वामगठबन्धन बन्नु, दुईतिहाइको जनमत आउनु, सरकार बन्नु , २०६२–०६३को परिवर्तन जुवाको खालबाट आएको सोचेको बताएका हुन ।
‘ओलीले नेकपा भत्काए, दुई तिहाइको सरकार भत्काए, संसद भत्काए , अदालतको कारणले बाँकी रहेको एउटा एमाले पार्टी छ । त्यसलाई पनि तोड्न, त्यसलाई पनि फोड्न ओली उद्धत भएर नग्नतापूर्वक लागेका छन्’ उनले भने । ओलीले नांगो झुट बोलेको र त्यो हेर्न पनि नसकिने भुसालको भनाइ थियो ।
तीन बर्ष पहिलाको उचाइ कहाँ थियो अहिले कहाँ पुगेको छ, यो सबै ओलीका कारण भएको हो । विश्वले पनि नेकपा र उसको सरकारका बारेमा सोच्नु परे तीन पटक सोच्नु पथ्यो तर अहिले ओलीले सबै ध्वस्त बनाएको उनले बताए । जनताको बहुदलीय जनवाद ओलीकोलागि बुर्जुवा सिद्धान्त भन्दा केहि फरक नभएको भुसालको आरोप छ ।
‘जवजलाई ओलीले चुनाव देखि चुनावसम्मको घोल चक्कर बनाए । चुनाव जित्ने त्योपनि आफ्नो गुटकालाई टिकट दिने । जिताउनु पर्नेलाई टिकट नै नदिने सिद्धान्त बनाए । हाम्रो जवज शान्तिपूर्ण रुपमा समाज रुपान्तरण गर्ने हो । असल र खराबबीच फरक छुट्याउने हो सामाजिक र आर्थिक रुपान्तर हो,’ भुसालको भनाइ छ ।
