
वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। ललितपुरको धोबिघाटमा शुक्रवार आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष गौतमले आफू एकताको पक्षमा लाग्दा ओली र प्रचण्डले आफू माथि आरोप लगाएको बताएका हुन्।
महासंघका अध्यक्ष समेत रहेका गौतमले संघले पनि एमाले एकताकालागि पहल गर्ने बताए। उनले प्रचण्ड र ओलीकै कारण त्यसबेला नेकपामा विभाजन आएको दाबी गरे। ओलीलाई पार्टी संगठन निर्माण गर्ने विषयमा राम्रो ज्ञान नभएको उनको दाबी छ।
‘जेलबाट उहाँ आउदा एकै पटक केन्द्रीय कमिटीमा पुग्नु भो। कसरी पार्टी निर्माण गर्नुपर्छ। कसरी कार्यकर्ता बनाउनु भन्ने थाहा छैन। तल्लो कमिटी माथिल्लो कमिटीलाई कसरी समन्वय गर्नुपर्छ भन्ने सम्बन्धमा उहाँलाई जानकारी नै छैन्,’ उनले भने।
ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको गौतमको आरोप छ। उनले पार्टी संगठन निर्माणका हिसाबमा ओलीलाई आफूले शुन्य नम्बर दिने बताए। भने,’ पार्टी संगठन निर्माणका हिसाबमा ओलीलाई शून्य र प्रचण्डलाई १०० मा १० नम्बर मात्रै दिन्छु।’
ओली र प्रचण्ड दुबैको आलोचना गर्दै गौतमले माओवादी केन्द्रमा नेता भनेकै प्रचण्ड र संगठन भनेकै प्रचण्डको स्थिति रहेको बताए।
