नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।

नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ । चक्रपथ विस्तारका कारण अहिले पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालयमा आउजाउमा असहज हुने भएपछि थापाथलीमा सार्ने तयारी भएको हो ।
थापाथली हाइटमा सञ्जय अग्रवालको घरमा कार्यालय सर्ने लगभग पक्का–पक्की भएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । यो घर उद्योग पूर्वराज्यमन्त्री मोतीलाल दुगडले खोजेको र एकरदुई दिनमै सम्झौता हुने रिजालको भनाइ छ ।
पुरानो शैलीमा निर्मित घरको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षणसमेत गरेका छन् । बुधवार थापाथलीमै भएको अर्को कार्यक्रममा पुग्नुभएका प्रधानमन्त्री ओलीले सर्न लागेको नयाँ भवनको निरीक्षण गरेका हुन् । ‘पुरानो शैलीको घर प्रधानमन्त्री ओलीलाई मन परेको छ, छिटै हामी थापाथलीमा सर्छौँ’, एक नेताले भने ।
नेकपा एमालेले मदननगर बल्खुमा नयाँ भवनको छिटै शिलान्यास गर्ने र नयाँ भवनको काम पूरा नहुञ्जेल थापाथलीमा नै कार्यालय रहने सम्भावना रहेको पनि सचिव रिजालले जानकारी दिए ।
