ओली सरकारमा सहभागीताबारे राजेन्द्र महतोले बुझे रेशम चौधरीको राय, के भने चौधरीले ?

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गरेका छन् । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला टीकापुर हत्याकाण्डका प्रमुख योजनाकारका आरोपमा जन्मकैदको सजाय पाएका निलम्बित सांसद चौधरीलाई भेट्न महतो बुधबार डिल्लीबजार कारागार पुगेका हुन् ।

एमालेसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको मुद्दा फिर्तालाई जसपाले प्रमुख एजेण्डा बनाइरहेका बेला बुधबार रेशम चौधरीकै भनाइ भन्दै ओलीसँग सहकार्य गर्न नहुने, बरु जेलमै कुहिने समाचार बाहिर आएको थियो ।



त्यसलगत्तै डिल्लीबजार कारागार पुगेका नेता महतोले एमालेसँग सत्ता साझेदारीमा जान नहुनेबारे बोलेको हो ? भन्दै चौधरीलाई सोधेका थिए ।

जवाफमा निलम्बित सांसद चौधरीले आफूले कोहीसँग पनि त्यस्तो नभनेको प्रतिक्रिया दिएका थिए । चौधरीले आफूले सत्ता सहकार्य लगायतका राजनीतिक विषयमा कोहीसँग केही कुरा नगरेको भन्दै बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित भएको जवाफ महतोलाई दिएका थिए ।

जसपाभित्र ओली नेतृत्वको सरकारमा जानुपर्छ र जान हुँदैन भन्ने दुई धार देखिँदै आएको छ । यहीबेला चौधरीले जेलभित्रैबाट ओलीसँग सहकार्य गर्नु हुँदैन भनेको प्रतिक्रिया बाहिर आएको थियो ।

सम्बन्धित समाचार