प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

दिउँसो प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम राखिएको छ । सपथग्रहण दिउँसो १ बजे हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।



मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । साबिकको नेकपामा विवाद हुँदा माधवकुमार नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछिन् । एमाले र साबिकको नेकपामा माधवकुमार नेपाल समूहमा रहेका शेरबहादुर तामाङ र उषाकला दम्पती अहिले ओली समूहमा छन् ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बढाइएको छ । एमालेबाट सांसद बनेका उनी माधवकुमार नेपाल समूह निकट थिए । तर साबिकको नेकपा विभाजित हुँदा ओली समूहमा लागेका उनले प्रचण्ड-माधव समूहले ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् ।

यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद् कला घले र नेपाल समूह छाडेर ओलीतिर लागेका मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार