नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित एक व्यापारी घरमा दुवै नेताबीच दुई घण्टा भेटवार्ता भएको स्रोतले बतायो । नेता नेपालले आफु पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन कलंकी जानुअघि प्रचण्डसँग भेटवार्ता गरेका हुन् । विहीवार पनि दुवै नेताबीच छलफल भएको थियो ।
दुवै नेताबीच पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसहित उपेन्द्र यादव र बावुराम भट्टराईसहितको पार्टी निर्माणको लागि प्रयास गरिरहेका छन् ।
एमाले विभाजनको संघारमा पुगेको बेला दुवै नेताहरुको भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टिकरण सोधिसकेका छन् । उनलाई पार्टीबाट कार्वाही गर्ने तयारी भएको एमाले स्रोतको दाबी छ ।
