नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी ओलीले चाल्न सक्ने आगामी कदमपछिको रणनीतिबारे उनीहरू जानकारी गराएका थिए ।
केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद छलफल सुरु भएको छ । केन्द्रीय समिति बैठक सकिएपछि सांसद नरहेका नेताहरु बैठक हलबाट बाहिरिएका छन् । सांसद सँगको परामर्शपछि बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठक जानेतयारीमा सो समूह रहेको छ ।
