नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री केपी ओलीको दौडधुप जारी रहेको छ । जेलमा रहेका जसपा सांसद रेशम चौधरीलाई भेट्न ओलीको ‘दूत’ बनेर एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागार पुगेका छन्।
चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका हुन्। समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन्। संविधान संशोधनसहित टीकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्नेलगायत माग जसपाको छ।
चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिएका छन्। सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा विहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेल पुगेको बताए।
