नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ चैत ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। शुक्रबार राति साढे ८ बजे जोशीको निधन भएको उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए । ५७ वर्षीय जोशीलाई ठीक एक महिना पहिले फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोही अस्पतालमा उनको उपचारका क्रममा ज्यान गएको हो ।
संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर हुन्। उनी पहिलो संविधानसभामा नेपाली कांग्रेसका प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए । दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए ।
जोशी २०२० पुस २४ गते काठमाडौंमा जन्मिएका जोशीले २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा प्रवेश गरेर नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
राजनीति गर्ने क्रममा एक वर्ष जेल जीवन पनि बिताएका थिए। उनकी एक छोरी छिन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीका बिभिन्न पत्रपत्रिकामा राजनीतिक लेखरचना प्रकाशित हुँदै आएका छन्। उनी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष पनि थिए ।
कांग्रेसले बोलायो आकस्मिक बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । शनिबार बिहान ९ स् ३० बजे आकस्मिक बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा नवीन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ । यस्तै श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ ।
