नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।
नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेको हो ।
नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो । बङ्गलादेशले खेलको ८३ औँ मिनेटमा गोल फर्काएको हो ।
यो जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो ।
लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो । बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक–शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । उपाधि जितेको नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ ।