नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्ध पाँचवटा उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिले दश दिनको अवधि दिएर सार्वजनिक रुपमा गरेको आह्वान गरेअनुसार सुवेदीविरुद्ध योग्यतामाथि उठाउँदै उस्तै व्यहोराका उजुरी दर्ता भएको हो ।
समितिमा सर्वोच्चकै न्यायाधीशमा सिफारिस पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा उजुरी दर्ता भएका छन्। चुडालविरुद्ध परेका उजुरी मुद्दा फैसला गर्दा पैसा लिएर भ्रष्टाचार गरेको आरोप लगाइएको सुनुवाइ समिति स्रोतले जानकारी दियो ।
सुवेदीविरुद्ध उजुरी दिनेमा सबै कानुन व्यवसायी पृष्ठभूमी भएका व्यक्ति रहेका स्रोतले बतायो। त्यसमध्ये एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालनको न्यायाधीश हुनका लागि संविधानको धारा १२९ (५) ले तोकेका चार मध्ये कुनै पनि योग्याता सुवेदीसँग नभएको दाबी गरेका छन् ।
त्रिपाठीले भने, ‘न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने भए पनि सुवेदीसँग त्यो अनुभव छैन। त्यसकारण उनलाई सुनुवाई समितिले सर्वोच्चको न्यायाधीश हुनबाट रोक्नुपर्छ ।’
सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्राप्त भएका उजुरीमाथि बिहीबारको बैठक छलफल हुने जानकारी दिए। उनले भने, ‘समितिको बैठक बिहीबार बिहान ११ः३० बजेका लागि आह्वान गरेको छु। बैठकमा उजुरीबारे छलफल हुन्छ ।’
सर्वोच्चको न्यायाधीश नियुक्ती हुुनुअघि संसदीय सुनुवाइबाट अनुमोदन हुुनुपर्ने संवैधानिक व्यवस्था छ। २०६४ साल भदौ ७ गते न्याय सेवाको प्रथम श्रेणी ९सहसचिव० भएका सुवेदी १० वर्ष ४ महिनामै २०७४ पुस २० गते उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए।
त्यसपछि २८ गतेसम्म तीन वर्ष २ महिना उनले मुख्य न्यायाधीशका रुपमा काम गरेको न्याय परिषद्को रेकर्डले देखाउँछ। पहिलो मुख्य रजिष्ट्रारका रुपमा काम गरेको १० महिनामै सुवेदी उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। माथि उल्लेखित बाहेक सर्वोच्च अदालतको न्यायाधीश हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ।
कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालन गरेको वा कम्तीमा १५ वर्ष वर्षसम्मा न्याय र कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्को रुपमा ख्याति प्राप्त गरेको व्यक्ति सर्वोच्चको न्यायाधीश हुन पाउँछ। तर सुवेदीको हकमा यी कुनै पनि योग्यता पुग्दैन।
