नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको लागि पहल शुरु गरेका छन् । गत आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका प्रचण्डले सोही लयमा नयाँ सरकार गठनबारे कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका हुन् ।
कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठमा भेटेपछि प्रचण्ड भट्टराईलाई भेट्न टोखा पुगेका थिए । वैकल्पिक सत्ता समीकरणका लागि सक्रिय प्रचण्डले उच्च नेतृत्वलाई भेटेका हुन्। सत्ता गठबन्धनका लागि उनले सत्ताबाहिरका दुई दललाई भेटेका हुन्।
कांग्रेस-माओवादी केन्द्र र जसपाको सरकार बनाउने पक्षमा प्रचण्ड छन्। जसपालाई प्रधानमन्त्री दिनेबारेमा देउवाले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताएको स्रोतको दाबी छ ।
प्रचण्डले देउवा र भट्टराई दुबैलाई ओलीलाई दिएको समर्थन फिर्ता लिन तयार रहेको भन्दै त्यसअघि तीन दलबीच मोर्चाबन्दीको लागि सहमति जुटाउनुपर्ने बताएका थिए ।
