नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।

नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले आफूहरू छुट्टै पार्टी कार्यालय खोजीमा लागेको जानकारी गराएका छन्। बुधबार युवा संघ नेपालको कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनको खोजीमा आफूहरू लागिरहेको बताए।
‘हामीले पनि भवनको खोजी गरेका छौँ। कही कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोलाई’, उनले भने,‘त्यो भन्दा पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ।’
उनले अब कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट सुरू गर्नुपर्ने अवस्था आएको भन्दैं यसका लागि सबैले मुठ्ठी दान गर्नुपर्ने बेला आएको बताए। उनले कम्युनिष्ट आन्दोलनलाई विघटन हुन नदिने भन्दै गत चैत ४-५ गतेको राष्ट्रिय भेलाले पनि आफूलाई अगाडि बढ्न आदेश दिइसकेको जानकारी गराए।
