नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल केन्द्रमा नयाँ कमिटी गठन गर्ने घोषणा गरेका छन् । विहीबार पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रमा अध्यक्षबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी गठन गर्ने घोषणा गरेका हुन् ।
नेता नेपालले जिल्लामा संगठित हुन कार्यकर्तालाई निर्देशन दिँदै कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिएका छन् । उनी नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेका छन् । ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं,’ उनले भने ।
यस्तै नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी गठन गरेको छ । पोखरामा भएको अगुवा कार्यकर्ता भेलाले ७५ सदस्यीय कमिटी घोषणा गरेको छ । धनराज आचार्यको नेतृत्वमा रहेको उक्त कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् ।
