नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत ।

नेकपा (एमाले) झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक शुक्रबार बस्दै छ । कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे स्थायी कमिटी बैठक तय गरिएको एक नेताले जानकारी दिए ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटीको आकार विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्षधर देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छन् ।
अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन् । विहीबार मात्रै कास्की जिल्ला कमिटी पनि समानान्तर बनेको छ । कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचनाको उद्घोष गरेका छन् । भोलि बैठक बसेर थप रणनीति तय गर्ने खनाल–नेपाल समूहको योजना छ ।
