नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।

सत्ता समीकरणको छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जसपाको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
माओवादी र जसपासँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन् ।
एमाले बाहेकको सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सहकार्य अनिवार्य छ । जसपाले एमालेसँग मिलेर सरकार गठन गर्ने या कांग्रेस माओवादीसँग भन्नेबारे ठोस निर्णय गरिसकेको छैन । उस्ले आफ्ना मागहरु पूरा गर्ने प्रतिवद्धता जस्ले जनाउँछ उसैको सरकार गठनमा सघाउने बताउँदै आएको छ ।
