नेताज्यूको रूपान्तरण (कविता)

बाँसझैं पातलो शरीर
सुरिला दुई खुट्टाहरू
लमक लमक लम्काउँदै
परको अति धमिलो मौसमबाट
धेरै हतारमा दौडिएझैँ गरी
हावाको झोँकाभन्दा चाँडो
मेरो नजिक आइरहेको
एक अञ्जान छाया
केवल छाया जस्तो लाग्ने एउटा आकृति…
पाँच अमलको दूरीमा
सबल एक मानव भएर
ठ्याक्क उभियो ।

पाङ्ग्रा जस्तै गोला गोला
पावर वाला चश्माको फ्रेमभित्र
सचेत हुँदै पल्याक पुलुक हेर्दै गरेका
मसिना ती गुच्चा जस्ता आँखाहरूले,
केही ईशारा गरिरहेझैँ लाग्यो मलाई….!



उसको चनाखो हाउभाउले
मलाई सचेत गरायो
अनि, मैले उसको हुलिया हेरेँ ।
रङ्ग उडेको अनुहार…
फिजारिएको मसिनो कपाल….
ठूलो निधार अनि स्याहार नपुगेको
झुस्स दारीभित्र उडेको सेतो छाया…
कच्याक कुचुक परेको मैलो सर्ट
अनि दुई चारवटा बटम चुट्टिएर
दाँत झरेको थोते गिजाझैँ देखिने
टाँक घरका स–साना प्वालहरूबाट
सुइरो जस्तै
सबैलाई छेडौंलाझैँ गरी
स्वाट स्वाट बाहिर निस्किएका
ती सेता अनि ठाढा ठाढा रौँहरू…..
करङ्गे शरीरको दायाँ काँधमा भिरिएको
अति पुरानो अनि मक्किन लागेझैँ देखिने
जुटको बोरा सिलाएर बनाइएको
त्यो झुत्रे भिर्ने झोला……

हतारो चटारो अनि गर्मीको समय
धावकले दौड जित्न कुधेझैँ धपेडी शरीर..
असिनपसिन तिर्खाएको ओठहरू
अनि काखीमुनिको अमिलो गन्धले….
मेरो मुखभित्र फिँजै फिँज भरियो ।

मेरो असहजतालाई उसले
सजिलै अनुमान ग-यो क्यारे…
अनि ‘आज महिला भेला छ, आउनुहोला’
भन्ने दुई वाक्यंश
फुत्त मेरो सामुन्ने फ्याकेर
ऊ कुनै रेसको घोडाझैँ
फेरि उही पुरानो शैलीमा दौडियो…।

यो घटनापछि
हप्ता, महिना र केही वर्षहरू बिते ।

एकदिन,
पारदर्शी सिसाहरूमा
कालो इष्टिकर टाँसिएको
चिल्लो गाडी…
मेरो नजिक आएर अडियो ।
म झस्किएँ अनि पुलुक्क हेरेँ…
‘चिन्यौ नानी….?’
उसले झ्यालबाट बाहिर
टाउको निकाल्दै मलाई सोध्यो ।
म एकछिन् घोरिएँ…
अनि याद आयो….
चुँडिन लागेको लोती
दुई औँलाले चेपेर घिसार्दै…..
ठुटो तिखारेर बनाएको
कोदालोको बिँड जस्तै
तिखोे देखिने कुर्कुच्चाले भ्वाङ्ग पारेको
हात्ती छाप चप्पलमाथि हिँड्ने त्यो मान्छे…
अनि,
अहिले देखिएको सानदार गाडी
र पत्याउनै नसकिने पोशाकमा सजिएको
त्यस मान्छेको अनुहारमा झल्किने
राजसीे तुजुक…..
देखेर मलाई लाग्यो–
देशमा कति ठूलो परिवर्तन भइसकेछ !

सोचेँ–
रातारात यसरी धनाड्य हुनेहरूको
धनसम्पत्तिको लेखाजोखा…..
कसले पो गर्छ यहाँ…..?
मन अमिलो भएर आयो ।

कठै…
आजीवन कार्यकर्ता मात्र बनेको
मेरो दिमागले
कसरी पो सोच्न सक्थ्यो र…
यी सब कायापलटहरू…..
म कायल भएँ….
अनि–
उसको महङ्गो गाडी र उसलाई
पालैपालो हेरेर
मेरा ओँठहरू विस्तारै खुले
अनि,
नचाहेरै पनि म फिस्स हाँसिदिएँ ।

अनि फेरि उसले
आफ्नो लामो मुन्टोलाई
गाडीबाट बाहिर निकाल्दै
मेरो कान नजिकै आफ्नो ओठ जोडेर
आफूलाई चिनाउँदै
व्यङ्ग्यात्मक शैलीमा भन्यो…
‘अझै चिन्नुभएन ?
म त्यही क्या त…
कुनै बेला काखीमुनि
अमिलो गन्ध बोकेर हिँड्ने…
सडकछाप नेता…!!’

 

सम्बन्धित समाचार