इलाममा अन्तर्राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुँदै

अनेरास्ववियु इलामको आयोजनामा अन्तर्राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता सुरु भएको छ । शहीद रत्नकुमार वान्तावाको ७० औँ जन्मजयन्ती तथा ४३ औँ स्मृति दिवशको अवसरमा ‘बौद्धिक पलायनका कारण र समाधानका उपायहरू’ शीर्षकमा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता शुरु भएको हो ।

युवाहरुको विदेश पलायनको समस्यालाई कसरी समाधान गर्ने ? भन्ने विषयलाई निबन्ध लेखन प्रतियोगिताले बहसको रूपमा अगाडी बढाउने आयोजकले जनाएको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकबाट युवाहरुको विदेश जाने प्रवृत्ति कायमै रहेको छ । कोही उच्च शिक्षाका लागि कोही अध्ययनका लागि, कोही पर्यटक भएर वा कोही वैदेशिक रोजगारीको सिलसिलामा विदेश जानेको संख्या प्रतिवर्ष बढ्दैजाँदा युवा किन विदेशतिर भन्ने प्रश्न उठिरहन्छ ।



निबन्ध प्रतियोगिताले बौद्धिक युवा जमातको विदेश पलायनलाई मुख्य बहसको रूपमा अगाडि बढाइएको आयोजक अनेरास्वियु जिल्ला कमिटी इलामका संयोजक मिलन खत्रीले जानकारी दिए । उनले भने– ‘विदेशिने नेपालीहरूको कारणहरु त धेरै छन् तर युवा जमात विदेश गएर उतै पलायन हुने विषयलाई निबन्धमार्फत बहस उठाइएको छ । उनले थपे युवाहरू उच्च शिक्षाका अध्ययनका लागि वा सीप सिक्न विदेश जाने तर अध्ययन पूरा गरी दक्ष भइसकेपछि समेत स्वदेश नफर्किने कारण के हुन सक्छ भन्ने विषयलाई निबन्धमार्फत बहस उठान गरिएको छ ।’

निबन्ध प्रतियोगितामा संसारका जुनसुकै मुलुकहरूबाट भाग लिन सकिनेछ । निबन्ध नेपाली र अंग्रेजी दुवै भाषामा लेख्न सकिनेछ । निबन्ध लेखी प्रत्यक्ष वा इमेलमार्फट आयोजकसामु उपलब्ध गराउनुपर्नेछ । प्रतियोगितामा सहभागि हुनेले एक महिनाभित्र अर्थात् २०७८ वैशाख २९ गतेसम्ममा निबन्ध आयोजकलाई उपलब्ध गराउनुपर्नेछ ।

उपलब्ध भएका निबन्धहरुलाई विज्ञहरूबाट मूल्याङ्कन गराई उत्कृष्ठ हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कारको राशि ३५ हजार ८ सय नेपाली अर्थात् ३ सय डलर रहेको छ भने द्वितीय हुनेले २३ हजार ८ सय अर्थात् २ सय डलर पाउने छन् भने तृतीय हुनेले ११ हजार नौ सय अर्थात् १ सय डलर प्राप्त गर्नेछन् । छनौटमा परेका उत्कृष्ट निबन्धहरूलाई अनेरास्ववियुले पुस्तकमार्फत प्रकाशन गरिनेछ ।
प्रतियोगिताका नियमहरू निम्नानुसार रहेको छ :
१) निबन्ध घटीमा २५०० शब्ददेखि बढीमा ३५०० शब्दको हुनुपर्नेछ ।
२) निबन्ध मौलिक र यसअधि प्रकाशित नभएको हुनुपर्नेछ ।
३) निबन्धका हरफहरू अरू कुनै लेखहरूसँग हुबहु मेल नखाने हुनुपर्नेछ ।
४) निबन्धमा कुनै पनि जाति, धर्म, सम्प्रदाय, लिङ्ग, राष्ट्रलाई आक्षेप लगाउन पाइने छैन ।
५) निबन्ध नेपाली वा अंग्रेजी भाषामा लेख्नुपर्नेछ ।
६) सहभागीले आफ्नो व्यक्तिगत विवरण (नाम, थर, ठेगाना, उमेर, पेशा, सम्पर्क नम्बर अनिवार्य खुलाउनु पर्नेछ ।
७) निबन्ध मिति २०७८-१-२९ गते (१२ मई २०२१) सम्ममा पठाइसक्नु पर्ने छ ।

सम्बन्धित समाचार