राप्रपा नेता चलाउने नेपाली कांग्रेसमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रामबहादुर चलाउने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबारको देउवा निवासमा भएको एक कार्यक्रममा कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए ।

२०३६ सालदेखि राजनीतिमा सक्रिय चलाउनेलाई देउवाले औपचारिक रुपमा काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् । २०४७ सालदेखि राप्रपामा रहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य रहनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार समेत बनेका थिए ।



तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुन् । शिक्षण पेशा छोडेपछि निरन्तर राजनीतिमै क्रियाशील छन् । चलाउनेले अबको सबै समय कांग्रेस पार्टीमा रहेर जनताका लागि सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्ट, नेपाली कांग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वार, पूर्व महाधिवेशन प्रतिनिधि मानबहादुर रावल, क्षेत्रीय सभापति लक्ष्मण शाह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार