नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।

नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा)ले छलफल थालेको छ। गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृत्वको सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेपछि त्यसको दुई दिनपछि जसपाले आन्तरिक छलफल थालेको हो। आजको पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निश्कर्षमा पुगेको स्रोतले बतायो ।
आजको छलफलमा कांग्रेसको प्रस्तावका विषयमा छलफल भएको एक नेताले जानकारी दिए। तर कुनै निर्णय नभएका उनले बताए। कांग्रेसको प्रस्तावको विषयमा पार्टीभित्र छलफल भएको छ तर तत्कालै निर्णयमा नपुग्ने भन्ने छ।’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै आफ्ना माग सम्बोधन गराउने प्रक्रिया सुरु गरिसक्नु भएकाले हामी दुई चार दिन अझै हेर्छौं।’
जसपाको राजपा पक्षले रेशम चौधरीलाई छुटाउनेलगायत मुद्दा सम्बोधन गरे वर्तमान सरकारलाई नै साथ दिन सकिने बताउँदै आएको छ। आजको बैठकमा संघीय परिषद् सदस्य डा बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए।
