‘गोयललाई भेटेपछि ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा बिर्से’

नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी ओलीले रअ प्रमुख सामन्तकुमार गोयल भेटेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा बिर्सेको आरोप लगाएका छन् । धनगढीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नै उनले भने, उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको होइन भनेर गोयलसँग निर्णय गरेको भए हामीलाई जानकारी गराइएको छैन।

राष्ट्रपतिले वितरण गरेको तक्मामा कालापानीसहितको भूभाग नभएको वितरण गरिएपछि नेता रावलले यस्तो तर्क गरेका छन्। उनले सो विषयलाई लिएर गृह मन्त्रालयबाट आएको स्पष्टीकरणले दुःख लागेको टिप्पणी गरे। ​गृह मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गर्नुअघि नै तक्मा तयार भइसकेको भन्दै शनिबार विज्ञप्ति जारी गरेको थियो। त्यसो त उनले यसअघि नै सरकारले प्रदान गरेको तक्मामा नेपालको चुच्चे नक्सा हटाएको भन्दै आपत्ति जनाएका थिए।



उनले ट्विटरमार्फत राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? भन्दै प्रश्न गरेका थिए। राष्ट्रियताको चर्का कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिनुपर्ने उनले बताएका छन्। नेपाली भूभागको समेटिएको चुच्चे नक्सा नसमेटिनुको कारण बालुवाटारमा विदेशी गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको मन्त्रणा त होइन ? भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका थिए, ‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जबाफ दिनुपर्छ। यसो हुनुको कारण कतै बालुवाटारमा प्रमंको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’

सम्बन्धित समाचार