महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओली सरकारलाई बिदा गर्नुपर्छ: डा. कोइराला

कांग्रेस नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार जति समय रहन्छ, त्यति नै अराजकता बढ्दै जाने बताएका छन् । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले ओली सरकारको विकल्प दिन ढिला गर्न नहुनेमा जोड दिए ।

‘प्रधानमन्त्री ओलीमा राजनीतिक इमानदारी भएको भए संसद् पुनस्र्थापना हुनासाथ राजीनामा दिनुपर्ने थियो,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले नैतिकता नदेखाउँदा समस्या आएको छ । कांग्रेसले पनि जुन खालको पहल गर्नुपर्दथ्यो त्यो गरेन ।’



कोइरालाले प्रधानमन्त्रीसँगै सभामुखको भूमिकालाई लिएर पनि आक्रोश पोखेका छन् । प्रधामन्त्रीले राजीनामा पनि नदिएको र संसद्लाई पनि काम गर्न नदिएको उनले बताए । सभामुख अग्निप्रसाद सापकोटा पनि मूकदर्शक बनेको उनको आरोप छ । सरकारले बिजनेस नदिँदा पनि सभामुखले आफ्नो अधिकार प्रयोग गर्न नसकेको उनले बताए ।

कोइरालाले अहिले प्रधानमन्त्री ओलीसँग हिमचिम गर्नेहरू भोलि पछुताउनुपर्ने चेतावनी दिए । जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोतर्फ संकेत गर्दै कोइरालाले भने, ‘मधेसका विषय सम्बोधन गर्न विगतमा कांग्रेसले प्रस्ताव लगेको थियो, त्यसको विरोधी एमाले अध्यक्ष ओलीले कसरी जसपाका एजेन्डा सम्बोधन गर्न सक्छन रु र, महन्थजीहरू ओलीतर्फ नरम बनिरहनुभएको छ ।’

जसपालाई मनाउन सक्दा कांग्रेस नेतृत्वको सरकार भोलि नै बन्न सक्ने उनको भनाइ छ । यद्यपि जसपाकै नेता ठाकुरको नेतृत्वमा सरकार गठन गरेरै भए पनि ओली सरकारलाई बिदा दिनुपर्ने उनले बताए ।

सम्बन्धित समाचार