नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ चैत ।

प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने भएपछि ओलीले संसद्मा विश्वासको मत लिने भएका हुन् । यस विषयमा हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले जानकारी गराएका थिए । जसपाले राखेका मागहरू पूरा गर्न ओली तयार भएपछि उनको सरकारलाई विश्वासको मत दिन जसपा तयार भएको बताइन्छ । साथै आफ्ना मागहरूको सम्बोधन भएपछि ओली सरकारमै सहभागि हुन पनि जसपा तयार भएको बताइन्छ ।
जसपाले नेपाली कांग्रेसलाई पनि अविश्वासको प्रस्ताव पेस गरेमा सघाउने बचन दिएको थियो भने ओलीलाई पनि विस्वासको मत लिने भए सघाउने वचन दिएको थियो । कांग्रेसले प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव पेस गर्ने हिम्मत नगरेपछि ओलीलाई नै विश्वासको मत दिनुपर्ने अवस्था आएको जसपाको जिकिर छ । यता ओलीविरूद्ध गठबन्धन कायम गर्न सफल नभएपछि माओवादी केन्द्रले पनि ओलीलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन ।
प्रधानमन्त्री ओली सकेसम्म विश्वासको मत लिने र जसपालाई पनि सरकारमा सामेल गरेर आफ्नो कार्यकाल ५ वर्ष नै पुर्याउने पक्षमा छन् । तर जसपा सरकारमा सामेल नभएमा मंसिरमा निर्वाचन गराउने ओलीको तयारी छ । मंसिरमा निर्वाचन गारउने विषयमा जसपा पनि सकारात्मक रहेको बताइन्छ । जसपाले आफ्ना दोस्रो तहका नेताहरूलाई चुनावी सरकारमा पठाउन सकिने बताउँदै आएको छ । सरकार २ वर्ष नै जाने भए राजेन्द्र महतोकै नेतृत्वमा जसपा सरकारमा सहभागी हुनेछ भने निर्वाचनमा जाने भए दोस्रो तहका नेतालाई अवसर दिइने भएको छ ।
संसद्मा एमालेको १२० सिट रहेको छ भने जसपाको ३२ सिट रहेको छ । यी दुई दल मिल संसद्मा सहजै बहुमत जुट्ने अवस्था छ । त्यसैले पनि ओलीले जसपालाई फकाउन उनीहरूले राखेका मागहरू पूरा गर्ने मात्र होइन चुनावी तालमेलको प्रस्ताव पनि राखेका छन् । तर जसपामा ओलीलाई साथ दिने र नदिने भन्नेमै दुई धार देखिएकोले ओली पनि ढुक्क हुन सकिरहेका छैनन् । त्यसैले उनले जसपासँग चुनावी सरकार बनाएरै भए पनि सहकार्य गर्न आग्रह गर्दै आएका छन् ।
मंंसिरमा निर्वाचन गर्न देउवा पनि सहमत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि मंसिरमा निर्वाचन गराउने विषयमा सकारात्मक रहेका छन् । नेकपा फुटेको बेलामा निर्वाचन भएमा कांग्रेस नै पहिलो दल बन्ने देउवाको बुझाइ छ । यस्तो अवस्थामा २ वर्षको लागि प्रधानमन्त्री बन्नुभन्दा निर्वाचनपछि पाँच वर्षकै लागि प्रधानमन्त्री बन्ने देउवाको दाउ रहेको छ ।
यता ओलीलाई हटाएर प्रधानमन्त्री बन्न पनि सजिलो नभएको आफूनिकटहरूसँग देउवाले बताउने गरेका छन् । ओलीले आफू हट्नै परे महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर एमालेलाई सरकारमा लाने र कांग्रेस र माओवादीलाई जसरी पनि प्रतिपक्षमैं पुर्याउने रणनीति लिएको देउवाको बुझाइ छ । त्यसैले देउवाले ओलीलाई मंसिरमा निर्वाचन गर्ने भए कांग्रेसले सघाउने वचन दिएको बताइन्छ । एमाले, कांग्रेस जसपा निर्वाचनको लागि तयार भएकोले मंसिरमा निर्वाचन हुनसक्ने सम्भावनालाई नकार्न सकिंदैन ।
