नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ वैशाख ।

कर्णाली प्रदेशमा आफ्ना सांसद्हरुले फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार बचाइदिइपछि प्रधानमन्त्री केपी ओलीले केन्द्रमा आफ्नो सरकार बचाउन थप कसरत गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । कर्णलीमा जस्तै केन्द्रमा पनि माधव नेपाल समूहले फ्लोर क्रस गरे भने राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि आफूलाई बचाउन नसक्ने बुझेरै ओलीले नेपाली कांग्रेसलाई फकाउने रणनीति लिएका छन् । सकेसम्म माओवादीबाहेकका दललाई आफ्नै सरकारमा सहभागी गराउने र त्यो सम्भव नभएमा मंसिरमा निर्वाचन गराउने रणनीतिमा ओली रहेका छन् ।
शनिबार सर्वदलीय बैठक बोलाएर ओलीले नेपाली कांग्रेसलाई फकाउने प्रयास गरे । एमसीसी सभामुखले रोकेको भन्दै ओलीले सदनमा पेस गर्न दवाब दिन भन्दै कांग्रेसबाट सहयोगको अपेक्षा गरेको बताए । एमसीसी सम्झैता नेपाली कांग्रेसको सरकारको पालामा भएकोले यसलाई पारित गर्नुलाई कांग्रेसले आफ्नै प्रतिष्ठाका रूपमा हेर्ने गरेको छ । त्यसैले पनि ओलीे एमसीसीको विषय उचालेर कांग्रेस र माओवादीबीच फाटो ल्याउने र आफ्नो सरकार जोगाउने अभीष्ट पूरा गर्न लागिपरेका छन् ।
यता कांग्रेस सभापति शेरबहादुर देउवा पनि राजपाले साथ नदिएपछि ओली सरकार ढाल्न असम्भव भएको भन्दै ओलीसँगै मिलेर मंसिरमा निर्वाचन गराउने लाइनमा ढल्किएका छन् । यो लाइनमा राजपाको महन्थ ठाकुर पनि सहमत छन् । ओली सरकारमैं सहभागी भएर मंसिरमा निर्वाचन गराउने विषयमा कांग्रेस र राजपा पनि सकारात्मक रहेकोले ओली एमसीसी पारित गर्ने, मधेशका माग सम्बोधन गर्ने र मंसिरमा निर्वाचन गर्ने सर्तमा सरकारमा कायमै रहने सम्भावना रहेको स्रोतको दाबी छ ।
देउवाको दाउ
कांग्रेस सभापति देउवा तत्काल ओली सरकार हटाएर प्रधानमन्त्री बन्ने भन्दा पनि भदौमा महाधिवेशन गरी सभापतिमा दोहोरिने योजनाका साथ गृहकार्य गरिरहेका छन् । भदौमै महाधिवेशन सम्पन्न गरेर मंसिरमा निर्वाचनमा जाने उनको तयारी छ । नेकपा फुटेपछि एमाले र माओवादीसँग जनता रुष्ट रहेको देउवाको बुझाइ छ । यो बेलामा निर्वाचनमा जान सकियो भने नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने र त्यो सम्भव नभए पनि पहिलो दल बन्न कसैले रोक्न नसक्ने देउवाको आँकलन रहेको छ । त्यसैले पनि देउवा तत्काल ओली सरकार गिराउने भन्दा निर्वाचन गराएर पाँच वर्ष नै सरकार चलाउने योजनाका साथ अगाडि बढेका छन् ।
माओवादी अलपत्र
ओलीले हिजो सर्वदलीय बैठक बोलाउँदै गर्दा जानीबुझी नै माओवादीलाई बेवास्था गरेको स्रोतको दाबी छ । उनले सुरुमा प्रचण्डलाई भेटवार्ता गर्नुपर्यो भन्दै फोन गरेका थिए । तर अरू दललाई भने सर्वदलीय बैठक बस्ने भन्दै निमन्त्रणा पठाएका थिए । प्रचण्ठ र ओलीबीच फोनवार्ता भएको भन्ने समाचार सार्वजनिक भएपछि ओलीले त्यही फोनवार्तामैं माओवादीलाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरेको बताए । तर माओवादी अध्यक्ष प्रचण्डले वान टु वान वार्ताको कुरा गरेको भन्ने सोचेर बालुवाटारमा होइन सिंहदरबारमा छलफल गरौं भन्दै फोन राखेका थिए । तर ओलीले दोहोर्याएर प्रचण्डलाई फोन गरेनन् । अन्ततः प्रचण्ड र माधव नेपाल समूहले हिजोको सार्वदलीय बैठक बहिष्कार गर्न पुगे ।
यता सर्वदलीय बैठक बहिष्कार गरेको भन्दै एमाले खेमाबाटै माओवादी विना पनि देश चल्ने भन्दै माओवादीलाई एक्ल्याउने खालका अभिव्यक्तिहरू आए । जुन ओलीको योजनाअनुसार नै भएको बताइन्छ । कांग्रेस र माओवादीबीच फाटो ल्याउन सकेमा ओली सरकार नै चुनावी सरकारमा परिणत हुने सम्भावना बलियो रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
