नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा बादललाई फेरि उपप्रधानसहित मन्त्रीगृह बनाउने तयारी गरेका छन् । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका थापालाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आज उक्त पद रिक्त भएको जानकारी गराएका थिए ।
सांसद पदमा नरहेपछि उनको मन्त्री पद पनि गुमेको छ । तर,सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थामा टेकेर प्रधानमन्त्रीले थापालाई पुनः उपप्रधानसहित गृहमन्त्रीमा शपथ लिने व्यवस्था मिलाउन लागेका हुन् ।
माओवादी केन्द्रबाट आएका नेताहरुलाई प्रधानमन्त्रीले उच्च प्राथमिकता दिँदै आएका छन् । यसअघि पनि माओवादी केन्द्रले ओली सरकारमा मन्त्री रहेका चार जना सांसदलाई कारबाही गरेको थियो । सांसद नरहेका चार मन्त्रीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गरेका थिए ।
हाल प्रधानमन्त्री कार्यालय हेर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका छन् । पुर्व माओवादीबाट एमाले प्रवेश गरेकाहरुलाई पनि एमालेमा संरक्षण गर्छ भन्ने सन्देश दिन पनि थापालाई उपप्रधानमन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दियो ।
