नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ वैशाख ।

सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।
यस्तै, मापदण्ड अपनाएर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेछ। यसैगरी, रात्रिकालीन व्यवसाय, सिनेमाघर, पार्टीप्यालेस, जीमखाना, रङ्गशाला लगायत पनि वैशाखभर बन्द राख्ने निर्णय गरिएको छ । बैठकले संसद्को चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो। निर्णय बारेको सूचना राजपत्रमा आजै प्रकाशित गरिने मन्त्री श्रेष्ठले बताए।
