मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक, विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताए ।



गुरूङले कोभिड सम्बन्धी पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय भएको बताए। मन्त्री गुरूङका अनुसार परीक्षाबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु वैशाखभर भौतिक रूपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारू गर्ने निर्णय गरेको छ।

साथै सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ ।

मन्त्री गुरुङले मास्क नलगाएका युत्रलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले यात्रुलाई बढीमा १० रुपैयाँमा मास्क बेच्न सक्ने निर्णय गरिएको बताए ।

लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु हाल्न नपाउने र यात्रुको विवरण जिल्लास्तीय डीसीएमसीमा दिनुपर्ने व्यवस्था गरिएको छ । सवारीलाई निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ ।

सम्बन्धित समाचार