नेपाल समूहको अकस्मिक बैठकले गर्यो यस्तो निर्णय

एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई किन नहटाउने भन्दै स्पष्टीकरण सोधेपछि नेपालपक्षीय सांसदको आकस्मिक बैठकले व्यक्तिगत रुपमा प्रश्नहरु सोधिएकाले त्यसको जवाफ छुट्टछुट्टै दिने निर्णय गरेको छ । अहिलेको लडाई राजनीतिक भएकाले त्यसको संयुक्त विज्ञप्ति निकाले धारणा सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।

‘व्यक्तिगत रुपमा स्पष्टीकरण सोधिएकाले त्यसको जवाफ पनि छुट्टाछुट्टै दिन्छौ’ सांसद दीपकप्रकाश भट्टले भने, ‘अहिलेको विषय राजनीतिक पनि भएकाले त्यसलाई राजनीतिक रुपमा प्रतिवाद गर्नुपर्ने हुन्छ। संयुक्त विज्ञप्ति जारी गरेर धारणा सार्वजनिक गर्ने विषयमा छलफल भएको छ।’ नेकपा एमालेले आफ्ना २७ जना सांसदलाई नयाँ दल गठन गरेर किन सक्रिय भएको भन्दै प्रष्टीकरण सोधेको छ।



माधवकुमार नेपाल निकट रहेका २७ जना सांसदलाई नयाँ पार्टी गठन गर्न लागेको भन्दै लगाएको आरोप कपोलकल्पित भएको भन्दै निर्धारित समयमा स्पष्टीकरण दिने तर पार्टी नछाड्ने बताए। ‘बैठकमा स्पष्टीकरण सोधिएकै समयमा सबैले जवाफ दिने तर पार्टीभित्र अन्तरसंघर्षलाई जारी राख्ने नै भन्ने विषय हो’केन्द्रीय सदस्य समेत रहेका सांसद गणेश पहाडीले भने, ‘हामीलाई बाहिर निस्किउन् भन्ने चाहाना होला तर हामी त्यस्तो गर्ने पक्षमा छैनौं।’

कार्यक्रममा स्पष्टीकरण सोधिएका सांसदहरुको सहभागितामा रहेको थियो। स्पष्टीकरण दुई प्रकारको रहेको बताउँदै सांसद भट्टले भने ‘पहिलो पटक स्पष्टीकरण सोधिएका नेताहरुलाई पहिलेको जवाफ चित्त बुझ्दो नभएको भन्दै थप प्रश्नहरु सोधिएको छ। पहिलो पटक सोधिएकालाई भने पार्टी विभाजनमा किन लागेको भनेर प्रश्न सोधिएको छ।’

भेलामा स्पष्टीकरणलाई आआफ्नो तरिकाले लेखेर ल्याउने र बुधबार त्यस विषयमा थप छलफल गरेर जवाफ दिने भट्टले बताए ।

सम्बन्धित समाचार