नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।

आफूलाई प्रेममा धोका दिएको आरोप लगाउँदै बालिका खड्काले फेरि मुख्यमन्त्री शेरधन राईलाई पार्टी कार्यालयभित्रै प्रवेश गरेर भेट्ने प्रयास गरेकी छन् । आज बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँगै एमालेको नयाँ केन्द्रीय कार्यालय (थापाथली) पुगेका मुख्यमन्त्री राईलाई खड्काले भेट्ने प्रयास गरेकी हुन्।
एमालेको मुख्यालय धुम्बाराहीबाट थापाथली सारिँदै छ। एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालको कक्षमा बसिरहेका मुख्यमन्त्री राईलाई भेट्न भन्दै बालिकाभित्र पस्ने प्रयास गरेकी थिइन् । तर उनलाई प्रहरीले बाहिर निकालेको छ।
यसअघि पनि बालिका मुख्यमन्त्री राई भेट्न पार्टी कार्यालय पुगेकी थिइन् भने प्रहरीले त्यसैगरी रोकेको थियो । मुख्यमन्त्री राईले आफ्नो अस्तित्व समाप्त पारेको बालिका खड्काको आरोप छ। मुख्यमन्त्री राईले हालै मात्र विवाह गरिसकेका छन् ।

