बालिका प्रकरणबारे मुख्यमन्त्री शेरधन राईकी श्रीमतीले जारी गरिन् यस्तो वक्तव्य

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमु शेर्पाले आफ्ना श्रीमानको राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै कडा विरोध गरेकी छन्।

आफूलाई प्रेममा धोका दिएको भन्दै बालिका खड्काले विहीबार एमालेको नयाँ केन्द्रीय कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेकी थिइन्, तर प्रहरीले उनको प्रयास असफल पारेको थियो। सोही प्रकरणमा मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेकी हुन्।



‘एउटा महिलाको नाममा यो हदसम्मका महिलाहरू पनि हुँदारहेछन् भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एक जना महिलाले गर्दै आएकी छिन्, यो ज्यादै नै दुःखद छ,’ जाङमुले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिएँ, तयार छु।’

हेर्नुहोस्, मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले फेसबुकमार्फत जारी गरेको वक्तव्य:
समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएको घटना र बिषयले मेरो गंभीर ध्यानाकर्षण भएको छ ! मेरो श्रीमान बिरुद्व बिगत लामो समय देखि वहाँको चरित्र हत्या मात्र होइन, वहाँको ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजीत षडयन्त्र हुदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुरामा म राम्रो जानकार छु ।

म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र होइन, अन्यायको बिरुद्व बोल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ । तर बिना प्रमाण, बिना गल्ति र दोष बिना एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन यो ज्यादै नै दुखद छ । मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु । मलाई पनि भ्रम थियो मेरो श्रीमानको गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत वहाँ निर्दोष हुनुहुदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु ।

मेरो श्रीमानले सायद एकपटक सार्बजानिक कार्यक्रममा बोल्नु भएको छ । स्वयम त्यही महिलाले वहाँ निर्दोष हुनुहुन्छ, मैले अरुको उक्साहटमा वहाँलाई आरोप लगाएको भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमको हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियोजीत, प्रायोजीत ढंगबाट अरु कुनै केही गल्ति कमजोरी नपाएर, आफ्नो राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ ।

अन्तमा यसप्रकार मेरो श्रीमानको चरित्र हत्या गर्न सुनियोजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियोजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एबं दुखित नहुन म मेरो परिवार आफन्त, नातागोता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु । यस्ता सुनियोजीत र षडयन्त्रमुलक हर्कत सहितका प्रचार प्रयासहरुले म र मेरो श्रीमान र परिवारका बीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु । यि केही तथ्यहरु पनि हेरि दिनुहोला। धन्यबाद !

सम्बन्धित समाचार