नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई एमाले एकतामा लाग्न अपिल गरेका छन्। नेपालका प्रथम कम्युनिष्ट प्रधामन्त्री मनमोहन अधिकारीको २२औँ स्मृति दिवसमा श्रद्धाञ्जली दिँदै नेता नेपालले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई अपिल गरेका हुन्।
उनले भनेका छन्‚ ‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु।’
यस्तै‚ नेता नेपालले नेपाली जनताले ठूलो मौका दिएको अहिलेको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको बताएका छन्।
उनले शालीन र बौद्धिक व्यक्तित्व मनमोहनले जीवनभर सादा जीवन र उच्च विचार अंगिकार गरेको स्मरण गर्दै अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीमा त्यस्तो गुण नभएको आरोप लगाएका छन्।

